हाम्रै गाउँठाउँमा पाइने जडिबुटी बोझोका अनेक अद्भुत फाइदाहरु यस्ता छन्


बोझो एउटा औषधीजन्य जडिबुटी हो । यो प्राय: नेपालको तराई र पहाडको अलि अलि पानी जम्ने ठाउँमा पाइन्छ । यसलाई  अंग्रेजीमा Sweet flag भनिन्छ र वैज्ञानिक  नामः एकोरस क्यालामस (Acorus calamus Linn) बाट चिनिन्छ । स्वास्थ्यसम्बन्धी यसको प्रयोग र अद्भुत फाइदाको बारेमा हामीमध्ये कमैलाई मात्र थाहा हुनसक्छ किन कि आज भोलि हामीले प्रयोग गर्ने एलोपेथिक औषधीले आयुर्वेदिक औषधीलाई बिस्थापित गरेको जस्तो देखिन्छ । जस्तोसुकै जटिल र दीर्घकालीन रोगको पनि आयुर्वेदिक औषधी निकै प्रभावकारी हुनुका साथै रामवाण नै सावित भएको छ ।

बोझोको स्वाद अलि परपराउने, पीरो र तीतो हुन्छ । यसको भित्री भाग सेतो र  अलि गुलाफी रंगको हुन्छ । काण्डको माथिल्लो सतहमा मसिनो झुस हुन्छ र तल्लो सतहमा जरा झरी दाग बसेका हुन्छन् । बोझो नेपालका हिमाली भेगका नदी, खोला नालातिर अक्सर समुद्री सतहभन्दा २,००० मिटर उचाइसम्म पनि अलि दलदल परेका ठाउँमा पाइन्छ। यसको  प्रयोग विभिन्न रोगको निर्मुल गर्नको लागि पहिले देखि नै भएको पाइन्छ ।

प्राय घाँटीको समस्या, टन्सिल (tonsils) र दमको बिरामीले यसको प्रयोग नियमित गर्दा यी समस्याबाट छुटकारा पाउन मद्धत गर्दछ । यसका साथै भोक जगाउन, पिनास निको पार्न, बाथ, ज्वोरो, हाड जोर्नीको दुखाइ कम गर्न, पेटको दुखाइ कम गर्न, मानसिक तनाब कम गर्न, अनिद्रा जस्ता रोगहरुका लागि बोझो निकै फाइदाजनक र उपयोगी मानिन्छ । बोझोले रक्तचाप घटाउन र श्वासप्रश्वासको गति कम गर्न पनि मद्धत गर्दछ ।

यसमा पाइने आर्सोन र वेटाआर्सोनको समिश्रणले नसा मजबुत बनाउन फाइदा पुर्याउँछ । पेटमा भएको अत्याधिक ग्यासलाई निकाल्न मद्दत गर्ने भएकाले ‘कार्मिनेटिभ’को रूपमा यसलाई प्रयोग गरिन्छ । सानो टुक्रा बोझो चुस्दा मानसिक तनाव एवम थकाइ कम गर्छ । बोझोको जराको बोक्रोले रक्तस्तम्भको काम गर्छ । यसलाई विभिन्न स्वास्थ्य समस्याहरू जस्तै अरुचि, टाउको दुख्ने, बाथमा प्रयोग गर्न सकिन्छ ।

बोझोमा शरीर लठ्याउने खालको रसायन हुने हुँदा यसलाई अरु औषधी बनाउने कच्चा पदार्थको रुपमा पनि प्रयोग गर्न सकिन्छ । सामान्य अवस्थामा सुकाएर तयार पारिएको बोझो सेवन गर्दा शारीरिक दुखाइमा आराम मिल्छ । आयुर्वेद ग्रन्थहरूका अनुसार मेध्य, कण्ठ्य, वेदनास्थप, सुलहर र शोथहर कर्म गर्ने भएकाले मानसिक तनाव, हिस्टेरिया, अनिद्रालगायत स्नायुसम्बन्धी विभिन्न समस्या समाधानमा पनि बोझो एवं बोझोयुक्त सम्मिश्रण प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!